Poet
Akriti Ojha
BBS 3rd Year
कहाँ सपनाको समून्द्र बोकेर हिँडेका तिमी
कहाँ त्यही समून्द्रमा रहेकी एक थोपा म,
के त्यो समुन्द्रमा यो थोपा देखिन्छ त ?
-बिलाई हाल्छ नि !
त्यसैले तिमी मेरै हुनुपर्छ भन्दिनँ म ।
कहाँ खहरे खोला झैं बगिरहेका तिमी
कहाँ ब्याट्री बिनाको घड़ी झैं रोकिएकी म
के नयाँ ब्याट्री लाउदैमा सधै समय देखाउछ त ?
-रोकि हाल्छ नि !
त्यसैले तिमी मेरै हुनुपर्छ भन्दिनँ म ।
कहाँ आजाद चिल झैं उडिरहेका तिमी
कहाँ प्वाँख झरेको मयुर झैं पर्खिबसेकी म
के नयाँ प्वाँख पलाउन्जेल मेरो बाटो हेर्छौं त?
-बिर्सी हाल्छौ नि !
त्यसैले तिमी मेरै हुनुपर्छ भन्दिनँ म ।
कहाँ सुर्य झैं दिनमा झुल्किने तिमी,
कहाँ चन्दमा झैं रातमा निस्किने म ।
के चन्द्रमा कहिले सुर्य बन्न सक्छ त?
-सम्भव छैन नि ।
त्यसैले तिमी मेरै हुनुपर्छ भन्दिनँ म ।
कहाँ भिरालो पाखामा उक्लिरहेका तिमी
कहाँ चाैतारीको बिसाैनीमा बसिरहेकी म,
के म त्यो पाखामा पुगुन्जेल् मेरै कल्पनामा डुब्छाै त ?
-तैरि हाल्छाै नि !
त्यसैले तिमी मेरै हुनुपर्छ भन्दिनँ म ।।
कहाँ मेरो ब्रह्माण्डमा उदाइरहेका तिमी
कहाँ तिम्राे कल्पनामा पनि नरहेकी म
के पूर्व र पश्चिमको कहिले भेट हुन्छ त ?
-हुँदैन नि !
त्यसैले तिमी मेरै हुनुपर्छ भन्दिनँ म ।।