पुस्तक समीक्षाः खप्पर

Writer
Anish Shrestha
BBS 3rd Year


नेपाली साहित्यमा पछिल्ला वर्षहरूमा विभिन्न प्रयोगात्मक कथा तथा आख्यानहरू जन्मिएका छन्। तिनैमध्ये कुमार नगरकोटीद्वारा रचित ‘खप्पर’ एकदमै फरक र गहिरो कृति हो। यस कृतिले परम्परागत कथा ढाँचा तोड्दै अस्तित्व, मृत्यु, पुनर्जन्म र स्मृतिको रहस्यलाई अद्वितीय शैलीमा प्रस्तुत गरेको छ। कथामा शून्यानन्द शिवाकोटी नामक पात्र केन्द्रमा रहेका छन्, जसलाई लेखकले आफ्नै वैचारिक प्रतिरूपका रूपमा चित्रण गरेका छन्।

कथाको सुरुवातमा शून्यानन्दलाई उनका विचित्र तर रोचक साथी ऋग्वेद मानन्धरले तिब्बतको निर्जन पठारबाट ल्याएको एउटा मानव खप्पर (Skull) उपहारस्वरूप दिन्छन्। साधारण उपहारझैँ देखिने यो खप्पर बिस्तारै शून्यानन्दको चेतनामा गहिरो प्रभाव पार्छ। उनले यसलाई बुझ्ने क्रममा अनेकौं रहस्य, कथा र इतिहाससँग जुध्न थाल्छन्।

यो खप्पर के हो? को हो? भन्ने जिज्ञासाले शून्यानन्दलाई निरन्तर छटपटाइरहन्छ। उत्तरको खोजीमा उनले विभिन्न स्थान र पात्रहरूको सामना गर्छन्। फोरेन्सिक विशेषज्ञ डा. सुदामा, टेलिप्याथी विज्ञ अंशुवर्मा, अनि भक्तपुरका गुरु रिम्पोचे सम्म। वैज्ञानिक परीक्षण, टेलिप्याथी उपकरण, तान्त्रिक साधना र अध्यात्मिक दृष्टान्तमार्फत खप्परबारेका गहिरा रहस्यहरू खुल्दै जान्छन्।

कथामा क्रमशः प्रकट हुन्छ कि उक्त खप्पर वास्तवमा Cindler नामक एक यहुदी वैज्ञानिकको हो। पोल्यान्डमा जन्मिएका Cindler दोस्रो विश्वयुद्धको त्रासदीमा आफ्नो परिवार गुमाउँछन्, नाजि सेनाबाट बच्दै विभिन्न ठाउँ पुग्छन्, फेरि आनन्द र अध्यात्मको खोजमा तिब्बत प्रवेश गर्छन्। त्यहाँ उनले बौद्ध धर्मप्रति आस्था राख्दै जीवन बिताउँछन् तर अन्ततः १९५९ मा मृत्युवरण गर्छन्। उनको मृत्युपश्चात् बचेको अवशेष यही खप्पर हो, जसले शून्यानन्दलाई बाँधेको छ।

तर कथा यतिमै रोकिन्न। टेलिप्याथी र ध्यानमार्फत थाहा हुन्छ कि Cindler पुनर्जन्म लिएर अहिले काठमाडौंमा Cinthol नामकी कलाकार बनेकी छिन्। जब नगरकोटी र Cinthol को भेट हुन्छ, त्यो केवल दुई पात्रको भेट मात्र होइन, अघिल्लो जन्म र वर्तमान जीवनको अद्भुत मिलन पनि हो। Cindler को आत्मा र खप्परको कथाले पुनर्जन्म, स्मृति र अस्तित्वलाई नयाँ अर्थ दिन्छ।

यस यात्रामा शून्यानन्दलाई विभिन्न पात्रहरूले खप्पर बुझ्न मद्दत गर्छन्।
  • डा. सुदामा: फोरेन्सिक विज्ञानको दृष्टिले खप्परको परीक्षण गर्छन् र यो नेपाली नभई युरोपेली खप्पर भएको पत्ता लगाउँछन्।
  • अंशुवर्मा: एक टेलिप्याथी अनुसन्धानकर्ता, आफ्नो उपकरणद्वारा खप्परमा सुरक्षित स्मृतिहरू पढेर Cindler को सम्पूर्ण जीवनकथा उजागर गर्छन्।
  • गुरु रिम्पोचे: तान्त्रिक दार्शनिकका रूपमा उपस्थित भई पुनर्जन्म र आत्माको अमरत्वबारे व्याख्या गर्छन्।

यी सबै पात्रहरूले कथामा फरक फरक दृष्टिकोण ल्याउँछन् । वैज्ञानिक, अध्यात्मिक, तान्त्रिक र दार्शनिक, यसरी ‘खप्पर’ केवल व्यक्तिगत अनुभव नभई मानव अस्तित्वकै बहुआयामिक खोज बन्छ।

कथाको अन्तिम खण्डमा ऋग्वेदको मृत्यु, आर्यघाटको दृश्य, र खप्परको बोझबाट मुक्त हुन खोज्ने शून्यानन्दको प्रयास प्रस्तुत हुन्छ। कथा यहाँ आएर मृत्यु, जीवन र आत्माको अन्तहीन चक्रबारे पाठकलाई सोच्न बाध्य पार्छ। यसरी, ‘खप्पर’ केवल एउटा मानव अस्थिपञ्जरको कथा होइन, यो इतिहास, युद्ध, शरणार्थी, तान्त्रिक चिन्तन, अध्यात्म, पुनर्जन्म र अस्तित्ववादी प्रश्नहरूको जटिल संगम हो।

 
तसर्थ: ‘खप्पर’ नेपाली आख्यान परम्परामा एउटा विशेष र महत्त्वपूर्ण कृति हो। यसले पाठकलाई केवल मनोरञ्जन होइन, जीवनका गहिरा प्रश्नहरूसँग जुध्न प्रेरित गर्छ। लेखकले प्रस्तुत गरेको कथा सपना र यथार्थ, विज्ञान र अध्यात्म, इतिहास र वर्तमान, जीवन र मृत्युबीचको जटिल सम्बन्धलाई उजागर गर्छ। खप्पर यहाँ एउटा रूपक (metaphor) हो, जसले स्मृति, आत्मा र पुनर्जन्मलाई जोड्छ।

यस कथाले हामीलाई बारम्बार यही प्रश्न सोध्छ: “मानव जीवनको अन्त्य साँच्चै अन्त्य हो त? आत्मा के साँच्चै अमर हुन्छ? हाम्रो वर्तमान जीवन अघिल्ला जन्महरूको प्रतिफल हो त?" यस्तो प्रश्नहरू कुनै सजिलो उत्तर दिन सकिँदैन। तर ‘खप्पर’ ले यी जिज्ञासाहरूलाई कलात्मक तरिकाले प्रस्तुत गर्दै पाठकलाई गहिरो चिन्तनमा डुबाउँछ।

अन्ततः ‘खप्पर’ एउटा यस्तो यात्रा हो जसले पाठकलाई आत्मसन्धान, इतिहासको स्मृति र अस्तित्वको अर्थबारे सोच्न बाध्य बनाउँछ। यस कारण यो कथा नेपाली साहित्यमा दीर्घकालीन प्रभाव पार्ने शक्ति बोकेको छ।

- “खप्पर तान्त्रिक कथा हो। अरु सप्पै कथा पढ्नु, नगरकोटीको खप्परचाहिँ बिर्सेर पनि कहिल्यै नपढ्नु।”
Previous Post Next Post

Contact Form